वृत्ति विकास भनेको के हो?

2023-03-04

वृत्ति विकासको परिचय दिँदै निजामती सेवामा रहेको वृत्ति विकासका अवसर, समस्या र समाधानका उपायहरू बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् । (१+२+४+३=१०)

वृत्ति विकास
व्यक्तिले अपनाएको पेसाको ज्ञान, सीप, विशेषता, सेवा सुविधा तथा जिम्मेवारीमा हुने उन्नति नै वृत्ति विकास हो । अर्थपूर्ण जीवनयापनका लागि कुनै व्यवसायभित्र रहेको वातावरण वा अवसर वृत्ति विकास हो । आफैँले बनाएको पेसाको उन्नयन नै वृत्ति विकास हो । पेसा व्यवसायलाई बढी मूल्यवान्, प्रतिष्ठित, ऊर्जावान् बनाउने अवस्था वृत्ति विकास हो । वृत्ति विकास संगठन र कर्मचारी दुवैको पक्षबाट महत्वपूर्ण हुन्छ ।

वृत्ति विकासको माध्यमबाट कर्मचारीको व्यक्तिगत अपेक्षा, उद्देश्य र संगठनात्मक लक्ष्यबीच उचित तालमेल हुन गई कर्मचारी र संगठन दुवैको उद्देश्य पूर्ति हुन सहज हुन्छ । संगठनको उत्पादकत्वमा वृद्धि ल्याउन, कर्मचारी पलायनलाई निरुत्साहित गर्न, कर्मचारीलाई आफ्नो काम कर्तव्यमा पोख्त गराउन र सामूहिक योगदानबाट संगठनको ख्याति बढाउन वृत्ति विकास जरुरी हुन्छ । साथै कर्मचारीमा निहित प्रतिभा, खुबीको प्रस्फुटन गराई त्यसको उपयोग र विकास गर्ने अवसर दिलाउन वृत्ति विकास आवश्यक पर्छ । 

वृत्ति विकासमा रहेका समस्या
नेपालको निजामती सेवा ऐन नियमावली तथा अन्य प्रचलित नीति र कानुनमा वृत्ति विकासका विभिन्न व्यवस्था गरेको पाइन्छ । खासगरी गुणमा आधारित भर्ना छनोट प्रणाली र पेसाको विविधीकरण एवं विशिष्टीकरणको अधिकतम उपयोगबाट निजामती कर्मचारीले आफ्नो वृत्ति विकास गरी संगठनको उद्देश्य हासिल गर्न योगदान दिन सक्ने अवसर रहेको छ । तर, कानुनी र नीतिगत व्यवस्थाको कार्यान्वयन उपयुक्त तवरले हुन नसक्दा कर्मचारी र संगठन दुवै दृष्टिकोणबाट सफलता हासिल हुन सकेको छैन । कर्मचारी, संगठन र सेवाग्राही कोही पनि सन्तुष्ट हुन सक्ने अवस्था छैन । वृत्ति विकासमा देहायका मुख्य समस्या रहेका छन् ।

 

  •     कर्मचारीको वृत्ति विकास र संगठनको लक्ष्य हासिल एकअर्कामा अन्तरसम्बन्धित विषय हो भन्ने तथ्यलाई महत्व नदिइनु, 
  •      निजामती सेवाको व्यवसायीकरणभन्दा पनि नोकर वा सेवकका रूपमा हेरिने परम्परागत मान्यता रहनु, 
  •      दैनिक प्रशासनिक विधि र प्रक्रियाहरूमा समेत बाह्य हस्तक्षेप रहनु, 
  •      छनोट प्रणाली गुणमा आधारित भनिए पनि पेसाअुनसारको ल्याकत परीक्षण गर्न नसकिनु,
  •      अनुमानयोग्य वृत्ति प्रणाली स्थापित हुन नसक्नु,
  •      सेवा तथा सर्तका क्षेत्रमा बारम्बार परिवर्तन हुनु,
  •      जनशक्ति विकासमा कम चासो रहनु,
  •      सेवा समूहपिच्छे फरक–फरक अवसर रहनु,
  •      कार्य सम्पादन मूल्यांकनलाई वस्तुनिष्ठ बनाउन नसकिनु,
  •      अध्ययन, तालिम, अवलोकन आदिको अवसरमा असमानता हुनु,
  •      चुनौतीपूर्ण जिम्मेवारी वहन गर्ने आधार नहुनु,
  •      ऐन–कानुनहरू विनाआधार परिवर्तन भइरहनु,
  •      तलब सुविधा जीवन धान्न पर्याप्त नहुनु,
  •      व्यक्तिगत सामीप्यताको प्रभाव बढी देखिनु,

समाधानका उपायहरू
वृत्ति विकासको मुख्य अभिप्रायः कार्यसम्पादनमा सुधार नै हो । माथि उल्लिखित समस्या समाधान गरी निजामती सेवामा कार्यसम्पादन संस्कृतिको प्रवद्र्धन गर्नु आवश्यक छ । नीतिगत, कानुनी र कार्यविधिगत क्षेत्रमा सुधार गरी कर्मचारी प्रशासनको प्रभावकारिता समग्रतामा  वृद्धि गर्न देहायका उपाय अवलम्बन गर्न सकिन्छ :

  •      दीर्घकालीन लक्ष्य हासिल गर्न सक्ने जनशक्ति विकास नीति र सोहीबमोजिमको वृत्ति विकास योजना तयार गरी लागू गर्ने,
  •      वृत्ति विकासलाई अनुमानयोग्य र वैज्ञानिक तुल्याउने, 
  •      सेवा समूह र पदहरूलाई विशिष्टीकरण गर्ने, 
  •      व्यावसायिक र आधुनिक कर्मचारी प्रशासनको विकासमा जोड दिने, 
  •      भर्ना छनोट प्रणालीलाई अझ प्रतिस्पर्धी तुल्याउने ल्याकतको परीक्षण हुने व्यवस्था गर्ने, 
  •      सदाचारिता र अुनशासनलाई मुख्य आधारका रूपमा लिने,
  •      शैक्षिक योग्यता, तालिम र अनुभवका आधारमा पदस्थापन गर्ने व्यवस्थालाई प्रयोगमा ल्याउने,
  •      जीवनयापन गर्न पुग्ने तलब, सुविधा उपलब्ध गराउने,
  •      बढुवाका लागि दरबन्दी अनुपात मिलाउने,
  •      सरुवाका प्रावधानलाई पालना गर्ने/गराउने,
  •      तालिमको प्रभावकारी व्यवस्था गर्ने,
  •      सबै सेवामा वृत्ति विकासको अवसर समान बनाउनुपर्ने,

निजामती सेवाको समग्र प्रभावकारिता, सेवाग्राहीको सन्तुष्टि र अन्ततोगत्वा सरकारको कार्यसम्पादनमा नै प्रभाव पार्ने वृत्ति विकासको विषयलाई योजनाबद्ध ढंगले कार्यान्वयन गर्नुपर्छ । पूर्वानुमानयोग्य वृत्ति प्रणालीको माध्यमबाट संगठनको साख वृद्धि गर्न सकिन्छ । संगठनमा मेधावी र कर्मठ जनशक्ति भित्र्याई कार्य सम्पादनको संस्कृतिलाई विकास गर्न सकिन्छ । यसो हुन सकेमा मात्र जनआकां‌क्षाअनुरूपको सेवा प्रवाह र विकास डेलिभरी भई सुशासन प्रवद्र्धन गर्न सकिन्छ ।

Spread Your Love: